प्राविधिक बिश्लेषणमा टेवा (support) र अवरोध (resistance) भनेको के हो ? यसमा लगानीकर्ताहरुकोे मनोबिज्ञान कस्तो हुन्छ ?


सन्तोष सिंह लिङदेन - काठमाडौँ :
मूल्य घट्ने क्रममा जब मूल्य फेरि माथि उक्लन थाल्दछ अथवा न्यूनतम मूल्यबाट माथि जान थाल्दछ, त्यस न्यूनतम मूल्यको बिन्दुलाई टेवा  (support) भन्ने गरिन्छ । प्राविधिक विश्लेषण अनुसार टेवाबाट मूल्य माथि जाने सम्भावना हुन्छ कारण यो अवस्थामा मूल्य धेरै झरिसकेको हुन्छ र मूल्य सस्तो भएको हुन्छ । यस कारणले यो टेवा क्षेत्रमा मूल्य सस्तो भएको फाइदा उठाई लगानीकर्ताहरू तथा कारोबारीहरूले खरिद गर्न उपयुक्त ठान्दछन र बजारमा खरिदकर्ताहरुको चाप बढी भएमा मूल्य माथि जाने प्रबल सम्भावना रहन्छ ।

ध्यानदिनु पर्ने कुरा: टेवा क्षेत्रबाट खरिदकर्ताहरुको चाप बढ्छ नै भन्ने सधैँ हुँदैन । यदि यस अवस्थामा विक्रीकर्ताहरुको चाप बढी भएमा र यो टेवा तोडीएमा मूल्य घट्न सक्ने अवस्था प्रबल हुनेछ , कारण प्राविधिक विश्लेषण अनुसार टेवामा खरिद गरेका कारोबारीहरूले अव मूल्य घट्ने रहेछ भन्ने अनुमान गरी खरिद नगरी फेरि बिक्री गर्न सुरु गर्दछन् ।

त्यस्तै गरी यदि मूल्य बढ्ने क्रममा जब मूल्य फेरि तल झर्न थाल्दछ अथवा उचाइमा पुगेको मूल्य तल झर्न थाल्दछ , त्यस मूल्यको उच्च बिन्दुलाई अवरोध (resistance) भन्ने गरिन्छ । प्राविधिक विश्लेषण अनुसार अवरोध क्षेत्रबाट मूल्य झर्न सक्ने सम्भावना हुन्छ कारण यो अवस्थामा मूल्य धेरै माथि गई सकेको हुन्छ अर्थात् मूल्य महँगो भई सकेको हुन्छ । त्यसैले लगानीकर्ताहरूले अब मूल्य महँगो भयो भनी नाफा संरक्षण गर्न बिक्री गर्न उपयुक्त ठान्दछन । यस कारण यो अवस्थामा बिक्रेताहरुको चाप बढी भएमा मूल्य फेरि सच्चिन थाल्दछ अर्थात् घट्न थाल्दछ ।

ध्यानदिनु पर्ने कुरा: अवरोध क्षेत्रबाट बिक्रेताहरुको चाप हुन्छ नै भन्ने सधैँ हुँदैन । यदि यस अवस्थामा खरिदकर्ताहरुको चाप बढी भएमा र यो अवरोध तोडीएमा मूल्य बढ्न सक्ने अवस्था प्रबल हुनेछ , कारण प्राविधिक विश्लेषण अनुसार यस अवस्थामा नाफा संरक्षण गर्न बिक्री गरेका लगानीकर्ताहरूले अव मूल्य बढ्ने रहेछ भन्ने अनुमान गरी बिक्री नगरी खरिद गर्न सुरु गर्दछन् ।

what-is-support-and resistance-intechnical-analysis-in-nepali

प्राविधिक विश्लेषणको अर्को सिद्घान्त के छ भने टेवा  (support) पछि गएर अवरोध (resistance) पनि हुन सक्दछ र त्यस्तै गरी अवरोेध पनि टेवामा परिणत हुन सक्दछ । मूल्यले टेवालाई तोडेर गएमा, तोडिएको मूल्यको क्षेत्र अवरोध बन्न सक्दछ कारण माग  (demand) भन्दा आपूर्ति  (supply)बढी भएको अवस्था हुनेछ र मूल्य घट्नेछ । जब मूल्य त्यही ठाउँमा आउँदछ तब आपूर्तिभन्दा माग बढी भई सकेको हानेछ र यो क्षेत्र अवरोध भएको हुनेछ । त्यस्तै गरी अवरोधलाई तोडेर गएको अवस्थामा ठिक विपरीत हुनेछ ।

माथि चार्टमा देखाए बमोजिम २०१५ को अक्टोबर महिनाको अन्तिम हप्ता र नोभेम्बर महिनाको पहिलो हप्तामा सिभिल बैंक लिमिटेड  (CBL) को मूल्यले टेवालाई तोडेर मूल्य तलतिर झरेको छ र टेवा अब अवरोधमा परिणत भएको छ ।

समग्रमा टेवा र अवरोध व्याख्या गर्दा र हेर्दा जति सजिलो देखिएता पनि यिनीहरू विभिन्न रूपमा आउने गर्दछन् र यस सम्बन्धी समयको अवधिलाई आधार मानेर राम्रो अध्ययन गर्नु र आफ्नो लगानी नीति बनाउनु आवश्यक हुन्छ ।