ठुला लगानीकर्ताको हालीमुहालीबाट बाहिर जाँदै शेयर बजार


इक्विटी नेपाल - काठमाडौँ :
केही वर्ष अघिको परिस्थितिमा नेपालको पूँजी बजारको आकार सानो थियो। नेप्सेमा निकै थोरै कम्पनीहरू कारोबार हुने गर्थे । कम्पनीहरुपनि पूँजीको हिसाबमा साना नै थिए। बजारमा शेयरको आपूर्ति निकै थोरै थियो। दोस्रो बजारका त परै जावोस प्राथमिक बजार (आइपिओ )मा समेत लगानीकर्ताको उपस्थिति निकै न्यून थियो ।

त्यो समय हातमा गन्न सकिने ठुला लगानीकर्ता थिए। त्यसबेलाको बजारलाई हेर्दा उनीहरूले परिचालन गर्ने सक्ने फण्डको आकार राम्रो थियो। जसले गर्दा उनीहरूले धेरथोर बजारको दिशालाई आफू अनुकूल चलाउन सक्ने अवस्थामा हुन्थे ।
अब साना लगानीकर्ताको मनोविज्ञान अध्यन गरेर ठुला लगानीकर्ताले आफ्नो चाल चल्नु पर्ने दिन आउन धेरै कुर्नु नपर्ने परिदृश्य अहिलेको बजारले देखाईरहेको  छ
कम्पनीको दोस्रो बजारमा कारोबार हुने शेयर सङ्ख्याको परिणाम थोरै हुने भएकोले एकै व्यक्ति वा कुनै एउटा समूह मिलेर कम्पनीको शेयर मूल्यलाई आफू अनुकूल तल माथि गर्न सक्ने अवस्था हुन्थ्यो। बजार उनीहरूकै हिसाबले चलेको नि पाइन्थ्यो। बैंकहरु फोन गरी गरी लोन लिन बोलाउने गर्थे। सरसर्ती भन्दा बजार उनीहरूकै वरिपरि चल्ने गर्थ्यो ।

ओपन आउट क्राई प्रणालीबाट नेपाली पूँजी बजार बिस्तारै डिजिटल युगमा प्रवेश गरेसँगै ब्रोकर सँग राम्रो सम्बन्ध भएकाले नै ब्रोकरलाई उपलब्ध मार्केट डेप्थ हेर्ने सुविधालाई उपयोग गरी सानो सानो कित्ताले शेयर मूल्य आफू अनुकूल तल माथि र्न सक्ने हैसियत रख्थिए। शेयर बजारमा हुने भित्री कारोबारमा पनि अप्रत्यक्ष रूपमा ठुला लगानीकर्ताकै संलग्नता हुन्थ्यो। अहिले जस्तो साना लगानीकर्तालाई सूचनाको सहज पहुँच थिएन। कम्पनीको वित्तीय प्रतिवेदनहरू हेर्ने कुरो त परै जावोस कम्पनीले घोषणा गरेको लाभास त धेरै लगानीकर्तालाई छिटो सजिलै प्राप्त हुने अवस्था थिएन। त्यस्तै साना पूँजी भएका सीमित कम्पनी भएकाले ठुला लगानीकर्ताले आफू अनुकूल सञ्चालक सजिलै पठाई कम्पनीका हरेक गतिविधि उनीहरूले सजिलै थाहा पाई कारोबार गर्न सक्थिए।

समय क्रम सँगै पूँजी बजारमा थुप्रै नीतिगत तथा प्राविधिक सुधार हुँदै जाँदा यस क्षेत्रमा दिन प्रतिदिन विकासको क्रम सँगै पूँजी बजार प्रति आम नागरिकमा चासो एवम् सहभागिता बढ्दै जना थाल्यो। विभिन्न नीतिगत व्यवस्थामा गरिएको सुधार सँगै प्राथमिक बजारमापनि बोरे लगानीकर्ताको हालीमुहाली घट्यो। प्राथमिक बजारमा धेरै लगानीकर्ताको प्रवेश सुरु हुन थाल्यो। प्राथमिक बजार मात्र नभएर थुप्रै साना लगानीकर्ताहरुपनि क्रमशः दोस्रो बजारमा प्रवेश गरे। फलस्वरूप नेपाली पूँजी बजार दुवो फैलिएको जस्तै फैलिन थाल्यो।

समयक्रम सँगै कम्पनीहरूको आकार पनि दिन प्रतिदिन ठुला हुँदै गए। कम्पनीको पूँजी दिन प्रतिदिन ठुलो हुँदै जान थाले। जसले गर्दा एउटा व्यक्तिले अथवा एउटा समूहले साना पूँजी भएका कम्पनीका शेयरलाई आफैबिच कारोबार गरी बजारलाई आफू अनुकूल चलाउन सक्ने अवस्था क्रमशः घट्दै जान थाल्यो। अझै पनि केही साना साना पूँजी भएका कम्पनीमा सीमित समूहले चलखेल देखि शेयर कर्ना्रिंग गर्दै आएतापनि त्यस्ता कम्पनीहरूको सङ्ख्या निकै थोरै छन्।

प्रविधिमा फड्को मरेसँगै पूँजी बजार दिन प्रतिदिन पारदर्शी हुँदै गइरहेको छ। कम्पनीकोहरुको वित्तीय विवरणहरूमा सजिलै सबैको पहुँच आएको छ। दोस्रो बजारमा गरिने कारोबारहरूमा मार्केट डेप्थको व्यवस्था सबैको पहुँचमा भएकाले गर्दा सानो सानो कित्ताले बजार तलमाथि गर्न गाह्रो छ ।

शेयर बजार सम्बन्धी मिडियाहरूको विस्तार व्यापक हुँदै छ। लगानीकर्ताहरूलाई तालिम दिने संस्थाको संख्यापनि बढ्दो छ। लगानीकर्ताहरू आधुनिक बन्दै छन्। अध्यन अनुसन्धानमा विश्वास गरेर लगानी गर्ने लगानीकर्ताको सङ्ख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ। जसले गर्दा अहिले शेयर बजारमा रहेका संस्थागत ठुला पूँजी सहितका सामूहिक लगानी कोष (म्युचुएल फन्ड)ले पनि आफू खुशी बजार चलाउन सकेका छैनन्।

साना लगानीकर्ताको समूहले नै बिस्तारै बजार निर्धारण गर्ने ट्रेन्ड चल्दै छ। बजारमा ठुला तथा संस्थागत लगानीकर्ताको प्रवेश विना पनि बजारमा राम्रै रकम कारोबार हुन थालेको देख्न पाइन्छ।

पूँजी बजारमा प्रविधिको प्रयोग बढ्दै जाँदा शेयर बजारको आधुनिकरणको युगमा पुगेको छ। केही समय पछि आउन लागेको स्वचालित अनलाइन कारोबार प्रणालीको विकाससँगै पूँजी बजारमा देश विदेशमा रहेका थुप्रै साना लगानीकर्ताले सहज पहुँच पाउने छन्। जसले गर्दा अहिले भन्दा भविष्यमा ठुलो सङ्ख्यामा रहेका साना लगानीकर्ता बजारको दिशानिर्देश गर्न थप निर्णायक अवस्थामा पुग्ने छन्।

कुनै समय ठुलो लगानीकर्ताको चालमा साना लगानीकर्ता चल्थे अब साना लगानीकर्ताको मनोविज्ञान अध्यन गरेर ठुला लगानीकर्ताले आफ्नो चाल चल्नु पर्ने दिन आउन धेरै कुर्नु नपर्ने परिदृश्य अहिलेको बजारले देखाईरहेको  छ।